नेकपा माओवादी केन्द्रले एमसीसीबारे पार्टीको पुर्ववत सैद्धान्तिक धारणामा रहने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डले शुक्रबार बिहान बोलाएको केन्द्रीय कार्यालयको विस्तारित छलफलले उक्त निर्णय गरेको हो ।
बैठकले एमसीसी नेता लीलामणि पोखरेलले सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।
एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने उनले बताए ।
बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको छ । संशोधन गरेर मात्रै एमसीसी पास गर्नुपर्ने माओवादीले बताउँदै आएको छ ।
एमसीसी तनाव
एमसीसी पास गर्न सत्तारुढ दल माओवादी, नेकपा एसले साथ नदिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग नजिकिएका छन् । उनी सत्ता गठबन्धन तोडेरै भए पनि एमसीसी पास गर्ने मनस्थितिमा देखिएका छन् ।
तर, एमालेले एमसीसी पास गर्न सत्ता गठबन्धन टुट्नुपर्ने, सभामुख अग्नि सापकोटालाई हटाउनुपर्ने तथा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने शर्त अघि सारेपछि देउवा समस्यामा परेका छन् ।
बिहीबार कांग्रेस–एमाले तथा एमाले–माओवादीका नेताबीच विभिन्न चरणमा छलफल भएको छ । तर, निष्कर्ष निस्किएको छैन ।
विवाद
गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेश गरेका थिए ।
तर, एमसीसीका बारेमा सत्ता साझेदार दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी पास गर्ने रणनीतिमा भए पनि सत्ता साझेदार दल विपक्षमा छन् ।