गठबन्धन जोगाएर एमसीसी पास गर्न शीर्ष नेतृत्वको दौडधुप चलेको छ ।
उनीहरुले भेटघाट र छलफललाई तीव्र बनाएका छन् । गठबन्धन जोगाएर एमसीसी पास गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायतले दौडधुप तीव्र बनाएका छन् ।
ती तीन पार्टीका दोस्रो तहका नेता पनि छलफलमा छुट्टाछुट्टै तथा सामूहिक छलफलमा जुटिरहेका छन् ।
बिहीबार देउवा र प्रचण्डले एमाले अध्यक्षसँग छुट्टाछुट्टै छलफल गरे पनि सहमति नजुट्दा सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने विकल्पमा सत्ता गठबन्धनका शीर्ष नेता जुटेका छन् ।
बिहीबार धनगढी पुगेका नेपाल पार्टी कार्यक्रम छोेडेर शुक्रबार बिहानै काठमाडौं पुगेर देउवासँग छलफल गरेका छन् । भेट तथा छलफलमा गठबन्धन जोगाएरै एमसीसी पास गर्नेमा नेताहरु सहमति नजिक पुगेको स्रोतको दाबी छ ।
एमसीसी संसद टेबल हुँदा बैठक बहिष्कार गर्ने र पारित हुने वातावरण बनाउने विकल्पमा छलफल भइरहेको नेताहरुको भनाइ छ । स्रोतका अनुसार आइतबार सदनमा एमसीसीमाथि सैद्धान्तिक छलफलसँगै पारित गर्ने तयारी छ ।