रुसले आक्रमण गरेको तेस्रो दिन युक्रेनको राजधानी किएभमा विस्फोटन भएका विवरणहरू आइरहेका छन् भने युक्रेनका विभिन्न ठाउँमा भीषण सङ्घर्ष भइरहेको छ ।
राजधानीमा मैदान स्क्वाएरनजिकै एउटा शक्तिशाली विस्फोटनको आवाज सुनिएको छ भने ट्रोइयस्चना क्षेत्रमा एउटाभन्दा बढी विस्फोटन भएका विवरण आएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार किएभमा गरिएका बमबारीको आवाज सहरको मध्यभागबाट कोसो टाढासम्म सुन्न सकिन्छ । किएभ इन्डिपेन्डन्टका अनुसार सहरको चिडियाखाना र सुलियाभ्कानजिकै अवस्थित एउटा क्षेत्रबाट ५० वटाभन्दा बढी विस्फोटनहरू सुनिएको छ र मशीनगनबाट गोली प्रहार भइरहेको सुनिन्छ ।
फक्स न्यूजका एक संवाददाताका अनुसार राजधानीमा अहिले एकभन्दा बढी दिशाबाट आक्रमण भइरहेको छ । ट्रोइयस्चना जिल्लाको सीएचपी–सिक्स ऊर्जा केन्द्रनजिकै लडाइँ भइरहेको युक्रेनी सेनाले जनाएको छ । सहरमा विद्युत् आपूर्ति बन्द गरिदिने उद्देश्यले उक्त आक्रमण गरिएको हुनसक्ने ठानिएको छ ।
पिरिमोही एभिन्यूमा क्षतिग्रस्त गाडीसँग आगो बलिरहेका दृश्यहरू देखिएका छन् ।
भ्यासीलकिभनजिकै रहेको एउटा हवाईअड्डामा पनि भीषण सङ्घर्ष भएको विवरण आएको छ । पाराट्रूपरहरूले उक्त क्षेत्रलाई किएभमा आक्रमण गर्न योजना बनाउने स्थलका रूपमा प्रयोग गर्न खोजिरहेको ठानिएको छ ।
युक्रेनी सैनिकहरूले रुसीहरूलाई ब्ल्याक सीमा अवस्थित मिकोलिएभ सहरबाट पछाडि धकेलिदिएको दाबी गरेका छन् । युक्रेनी सेनाले आफ्नो फेसबुक पेजमा शनिवार किएभस्थित सैनिक अड्डाले रुसी फौजको आक्रमणको आफूले प्रतिरोध गरेको जनाएको छ ।
पुटिनमाथि प्रतिबन्ध
अमेरिकी अर्थमन्त्रालयले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको छ ।
विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु दुर्लभ घटना हो र यो युरोपेली सङ्घ, यूके र क्यानडाले गरेका निर्णयपछि आएको छ ।
राष्ट्रसङ्घका महासचिवको चिन्ता
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले शान्तिका लागि अर्को प्रयास गर्नुपर्ने बताएका छन् । युक्रेनमाथिको आफ्नो आक्रमणको निन्दा गर्ने एउटा प्रस्तावलाई राष्ट्रसङ्घको सुरक्षापरिषद्मा रुसले भिटो प्रयोग गरिदिएपछि उनी बोल्दै थिए ।
भिटो शक्ति भएको रुस परिषद्को स्थायी सदस्य रहेकाले उक्त प्रस्ताव विफल हुने निश्चित थियो । ‘राष्ट्रसङ्घ युद्धपछि लडाइँलाई अन्त्य गर्न जन्मिएको थियो। आज त्यो उद्देश्य हासिल भएन । तर हामीले प्रयास छाड्नु हुन्न। हामीले शान्तिका लागि अर्को प्रयास गर्नैपर्छ’, उनले ट्वीट गरेका छन् ।
त्यसलगत्तै उनले युक्रेनमाथि आक्रमण गरेका रुसी फौजहरूलाई ब्यारेकमा फर्किन आग्रह गरेका थिए ।
क्षेप्यास्त्र प्रहार
ब्ल्याक सीबाट युक्रेनलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार भइरहेको विवरण प्राप्त भएको छ ।
सङ्घर्ष चर्किरहेको अवस्थामा केही स्थानमा हवाई आक्रमण पनि भइरहेको विवरणहरूमा उल्लेख गरिएको छ ।
रुसले आक्रमण गरेपछि सङ्कटमा फसेको युक्रेनप्रति ऐक्यबद्धता प्रकट गर्न विश्वका विभिन्न देशका राजधानीमा रहेका प्रसिद्ध स्थानहरूमा युक्रेनको राष्ट्रिय रङ्ग प्रतिबिम्बित हुनेगरी बत्ती बालिएको छ । बीबीसी