प्रधानसेनापति खुला म्याराथनको उपाधि नेपाली सेनाका धावक कृष्णबहादुर बस्नेतले जितेका छन् ।
काठमाडौंमा शनिबार भएको म्याराथनमा कृष्णले निर्धारित दुरी २ घन्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरे । सेनाकै खड्कबहादुर खड्का दोस्रो र शसस्त्र प्रहरी बलका किरण सिंह बोगटी तेस्रो भए ।
खड्कले निर्धारित दुरी २ घन्टा २२ मिनेट र बोगटीले २ घन्टा २४ मिनेट ४२ सकेन्डमा दौड पूरा गरे । बोगटी १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
उपाधिसँगै सेनाका कृष्णाले तीन लाख रुपियाँ र याहामा मोटरसाइलक पुरस्कार पाए । दोस्रो भएका खड्काले दुई लाख रुपियाँ र मोटरसाइकल तथा तेस्रो हुनुभएका बोगटीले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरे ।
यसैगरी महिलातर्फ हाफ म्याराथनको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितिन् ।
हाफ म्याराथन पुरुषतर्फ सेनाका गजेन्द्र राई पहिलो भए । १३औँ सागमा १० हजार मिटर दौडकी स्वर्ण विजेता श्रेष्ठले १ घन्टा १३ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरिन् ।
महिलातर्फ पुलिसकी राजपुरा पछाई दोस्रो र सेनाकी विश्वरुपा बुढा तेस्रो भए ।
हाफ म्याराथनको महिलातर्फको विजेता सन्तोषीले ७५ हजार रुपियाँ र स्कुटर तथा पुरुषतर्फको विजेता गजेन्द्रले ७५ हजार र मोटरसाइकल पुरस्कार पाए ।
प्रतियोगिताको विजेतालाई प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।