युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
‘लडाइँ यहाँ भइरहेको छ । मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन’, अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ ।
द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ ।
रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।
विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन् । एउटा सम्बोधनमा उनले भनेका छन्, ‘जब तिमीहरूले हामीलाई आक्रमण गर्छौँ हामी त्यसको सामना गर्छौँ, भाग्दैनौँ ।’
उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन् । उनले भनेका छन्, ‘हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ ।’