प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ । ‘माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले ’नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (मिलिनियम ल्यालेन्ज कम्प्याक्ट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने’, कार्यसूचीमा भनिएको छ ।
त्यसअघि आइतबार बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।
२०७६ असार ३० गते दर्ता भएको प्रस्ताव गत फागुन ८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा टेबल गरेका थिए ।
गत फागुन १२ गतेका लागि बोलाइएको बैठक १३ गतेलाई र १३ गतेका लागि बोलाइएको बैठक आइतबारको लागि तोकिएको थियो ।
एमसीसीमाथि सत्तारुढ दलबीच सहमति नहुँदा संसद् बैठक स्थगित हुँदै आएको छ । एमसीसी पास गर्न प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संवाद अगाडि बढाएका छन् ।