आइतबार (आज) बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ।
सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्।
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । सापकाटाले आइतबार (आज) बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।यसअघि सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी भएको थिएन ।
एमालेले संसद अवरोध कायम राख्ने
यता प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोधलाई कायमै राख्ने भएको छ। नेपाली काँग्रेस र नेकपा एमालेबीचको हिजो शनिवार छलफल भएपनि बैठक निष्कर्षविहीन भएको थियो ।
दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहेपछि बैठक निरन्तर निष्कर्षविहीन हुँदै आएको छ । सो बैठकमा नेपाली काँग्रेसका नेताहरूले एमसीसी पास गराउन साथ दिन एमालेसँग आग्रह गरेका थिए ।
जवाफमा नेकपा एमालेका नेताहरूले आफ्नो पार्टीले कारबाही गरेको १४ सांसदलाई प्रतिनिधिसभाबाट नहटाइएसम्म अर्को विषयमा कुरा गर्न नसकिने अडान यथावत् राखेको एमाले महासचिव शंकर पोखरेलले बताए ।
सुरक्षा व्यवस्था कडा
एमसीसी सम्झौतामाथि आजको संसद् बैठकमा छलफल हुने सम्भावना रहेकाले संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहानैदेखि यी क्षेत्रहरुमा सुरक्षाकर्मी खटिएका छन् । आवश्यक परेमा माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड खाली गराउने सुरक्षाकर्मीको तयारी छ ।
तर, यतिबेला सडकको अवस्था सामान्य रहेकाले अहिले गाडीको आवतजावत सामान्य छ । तर, बिहान ११ बजेपछि विरोध प्रदर्शन हुने भएकाले त्यसपछि भने यो सडक खण्ड प्रभावित हुनसक्ने सम्भावना छ ।