युरोपियन मुुलु्क युक्रेन र रसियाबिच युद्ध छिरेपछी त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत परेको छ ।
नेपालमा मुख्यतः खाने तेल तथा केराउको मुख्य आयातकर्ता युक्रेन युद्धमा धकेलिएपछी त्यसको असर नेपालमा देखिएको हो ।
युद्धका कारण नेपाललाई चाहिने कच्चा पदार्थ आयात गर्न नसकिदा अभाव सिर्जना भएको हो । आयात निर्यात घटेसंगै राजस्वमा समेत गिरावट हुने निश्चित रहेको छ ।
यस वर्ष युघ अगाडीका महिनामा युक्रेनबाट सामानको आयात बढ्दा विरगञ्ज भन्सारले १२ लाख ६५ हजार २ सय १९ रुपैयाँ राजश्व उठाएको छ । गत आ.व.को सात महिनाको अवधिमा भने ३ लाख २३ हजार ८ सय ५७ रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।
सात महिनाको अवधिमा युक्रेनबाट विरगञ्ज भन्सार नाकासहित देशका अन्य भन्सार नाकाबाट रु १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार मूल्य बराबरको सामान आयत भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार नेपालले युक्रेनबाट केराउ, खाने तेलको कच्चा पदार्थ, टेलिफोन र मोबाइलका उपकरण तथा तयारी कपडा आयात गर्ने गरेको छ । यस अवधिमा नेपालबाट युक्रेन १५ लाख ७८ हजार रुपैयाँ बराबरको सामान मात्रै निर्यात भएको छ । नेपालबाट युक्रेनमा चित्रकला, कार्पेट तथा चिया निर्यात हुने गरेको विभागको जनाएको छ ।
नेपालमा युक्रेनबाट पछिल्लो समय भटमास र पाम आयल आयात गरी प्रशोधित गरेर यहाँका व्यवसायीहरुले भारततर्फ निर्यात गर्दै आएका छन् ।
पछिल्लो केही वर्षदेखि वीरगञ्ज भन्सार नाका भएर सबैभन्दा बढी प्रशोधित भटमासको तेल र पाम आयल निर्यात हुँदै आएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो सात महिनाको अवधिमा वीरगञ्ज भन्सार नाका भएर २३ अर्ब ६८ करोड ५४ लाख २९ हजार बराबरको प्रशोधित भटमासको तेल र २२ अर्ब ७४ करोड ८ लाख ९७ हजार मूल्य बराबरको प्रशोधित पाम आयल भारतमा नेपालले निर्यात गरेको विरगञ्ज भन्सारले जनाएको छ ।
सात महिनाको अवधिमा विरगञ्ज नाका भएर सामान आयत हुने ८६ देशहरुमध्ये पहिलो नम्बर मा भारत दोस्रोमा चीन छ भने युक्रेन पाँचौ स्थानमा छ।