नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित भएपछि आफू खुसी भएको बताएका छन् ।
एमसीसी सम्झौता पारित भएपछि पत्रकार सम्मेलन गर्दै प्रचण्डले देश र संविधान दुर्घटनाबाट बचेकोले आफू खुसी भएको बताएका हुन् ।
उनले भने, ‘राष्ट्रिय सहमतिका साथ एमसीसी पारित हुँदा म खुसी छु । देश दुर्घटनाबाट बच्यो । संविधान बच्यो । गठबन्धन बच्नु ठूलो कुरा हैन ।’
उनले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताए ।
उनले प्रतिनिधि सभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी पारित हुनु महाकालीमा बनेजस्तो संकल्प नरहेको बताए । उनले व्याख्यात्मक घोषणा कानूनी र वैधानिक मान्यता पाउने दाबी गरे ।
एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले नमाने खारेज हुने प्रचण्डले बताए ।
उनले भने, ‘एमसीसी पारित नभए सरकार परिवर्तन मात्रै हैन, शान्ति सम्झौताका बाँकी काम र संविधान नै खतरामा पर्ने सम्भावना थियो । यो महाकाली सन्धीमा बनेजस्तो संकल्प हैन । कानूनी र वैधानिक मान्यता पाएको छ । राष्ट्र एकतावद्ध भएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीको पालामा एमसीसी गिजोलिएको आरोप लगाए ।
आइतबार राति एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएको थियो । जसको माओवादी केन्द्रभित्रैबाट विरोध भइरहेको छ ।
यसअघि माओवादीले संशोधनसहित मात्रै एमसीसी पारित गर्नुपर्ने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाएरै भएपनि एमालेसँग मिलेर एमसीसी पारित गर्ने तयारी गरेपछि माओवादी लचिलो बन्दै व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्न तयार भएको थियो ।