राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भएको छ ।
अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले पाँच दलीय गठबन्धनबाट अलग भएको जानकारी दिएका छन् ।
राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजीमा जोड दिँदै आएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।’
एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने विज्ञप्तिमा जनाइएको छ ।
एमसीसीलाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको घोर विरोध तथा भत्र्सना गर्दै जनमोर्चाले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता जसले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पुर्याउने जनाएको छ ।
व्याख्यात्मक प्रस्तावलाई उक्त पार्टीले औचित्यहिन ठहर गरेको छ । साथै, माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमासहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र भनेको छ ।