राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिको पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मंगलबार शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरिन् ।
“नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो”, सन्देशमा भनिएको छ ।
मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइएको उनको भनाइ छ ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन् ।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए पनि नेपालमा सबै धार्मिक समुदायले श्रद्धापूर्वक मान्ने गरेको उल्लेख गर्दै नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको बताए।
उनले हरेक जातजातिका आआफ्ना रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्दै अपनत्व महसुस गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको उल्लेख गरे।
नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि पसरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
राष्ट्रिय एकता र संस्कृतिको पर्व महाशिवरात्रीले नेपालीबीच आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याएका उनको भनाइ थियो ।
महाशिवरात्रीले राष्ट्रिय एकताको आधारस्तम्भको रूपमा स्थापित भएको उल्लेख गर्दै उनले धार्मिक पर्वहरुको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरे ।