नेकपा एमालेले एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ ।
एमालेले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीको मंगलबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
यसअघि प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न लागेका एमाले अध्यक्ष पछिल्लो समय मौन बसेका थिए । सत्तारुढ दल दलले धारणा बनाएपछि मात्रै एमालेले एमसीसीबारे धारण बनाउने उनले बताउँदै आएका थिए । संसदमा एमसीसी पास हुँदा एमालेका अन्य सांसदले नाराबाजी गर्दै थिए भने भीम रावलले विरोध गरेका थिए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीले पनि एमसीसीबारे धारणा सार्वजनिक गर्दैछ ।
त्यसका लागि उक्त पार्टीले मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।
नेकपा एसले यसअघि संशोधनबिना एमसीसी पारित गर्न नसकिने बताउँदै आएको थियो । व्याख्यात्मक घोषणापछि नेकपा एस एमसीसी पास गर्न तयार भएको थियो ।
एमसीसीबारे माओवादी केन्द्रले भने सोमबार नै धारणा सार्वजनिक गरिसकेको छ । उक्त पार्टीका अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित भएपछि देश र संविधान दुर्घटनाबाट बचेकोले आफू खुसी भएको बताएका थिए ।