नेकपा एमालेले एमालेले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट पास भइरहेकोले अब कार्यान्वयन गर्नुपर्ने बताएको छ ।
एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा एमालेले ‘एमसीसी जे जस्तो अवस्थामा भएपनि अनुमोदन भएकाले अब यसलाई कार्यान्वयन गर्नुपर्ने’ उल्लेख गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यको ११औं बुँदामा भनिएको छ, ‘एमसीसी परियोजना सम्झौता संसद्बाट अनुमोदन भइसकेको छ । अब राष्ट्रको प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ । पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ ।’
विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोस्ः
एमालेले व्याख्यात्मक घोषणालाई औचित्यहीन र जनता झुक्याउने कोसिस भएको प्रतिक्रिया दिएको छ । ‘दुई सरकारबीचको सम्झौता एक पक्षीय रुपमा संशोधन गर्नु र त्यो लागू हुन्छ भन्नु जनतालाई झुक्याउनु हो । एमसीसी सम्झौता गठबन्धनकै नेताहरुले विवादित बनाए । सरकारले गर्नुपर्ने पत्रचारमा दलका नेताले हस्ताक्षर गरेर यसलाई दूषित बनाए’ एमालेले भनेको छ ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्दा प्रमुख प्रतिपक्षलाई बेवास्ता गरिएको र यो सत्ता गठबन्धनको षड्यन्त्र भएको एमालेको आरोप छ ।