नेपालमा प्रतिबन्धीत रहेको गाँजा खेतिलाई बैधानिकता दिन नेकपा एमालेका सांसदले माग गरेका छन् ।
पुर्व स्वास्थ्यमन्त्री समेत रहेका एमाले सांसद शेरबहादुर तामाङले गाँजा खेतिको माध्यमबाट सम्पुर्ण नेपालिहरुको आर्थिक अवस्था सुदृढ हुने भन्दै त्यसको खेती बैधानिक रुपमै गर्नदिन माग गरेका हुन् ।
दुईवर्ष अघि संसदमा गाँजा खेतिको व्यवस्थापन तथा नियमन गर्न आफुले ‘गाँजा बिधेयक’ दर्ता गराएको बताउँदै तामाङले उक्त बिधेयकलाई पारित गर्न सांसदहरुसंग माग समेत गरेका छन् ।
‘मैले दर्ता गराएको गाँजा विधेयकलाई सघीय संसदमा छिटो छलफल गरि पास गराउन हामी सबै लाग्नु पर्दछ’, सांसद तामाङले भने– ‘नेपाल राष्ट्रको समृद्धिको लागि र नेपाली जनताको आर्थिक उन्नतिको लागि यो अनिवार्य छ ।’
उनले नेपाली जनताको समृद्धिको ढोका खोल्नसक्ने गाँजा विधेयक संसदमा दर्ता भएको दुई वर्षभन्दा बढी भैसक्दा समेत सरकार र संसदलाई चासो नभएको भन्दै दुःख मसेत व्यक्त गरेका छन् ।
सांसद तामाङले गाँजा भगवान शिवले औषधीय गुणभएको वनस्पतिको रुपमा पत्ता लगाएर मानव समुदायलाई उपहार स्वरुप प्रदान गरेको गुणकारी वनस्पति भएको दावी समेत गरेका छन् ।
‘भगवान शिवको उपहारलाई सबैले सजिलै प्राप्त गर्नसक्ने गरी कानुन बनाऔं’, तामाङले भनेका छन– गाँजाको वैधानिक खेती गर्ने कानून नै अहिलेको आवश्यकता हो । मुलुक बनाउने बहसमा लागौं ।’