सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको’ उल्लेख छ ।
मंगलबार एमसीसीबारे धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले जारी गरेको विज्ञप्तिको बुँदा नम्बर ३ मा ‘सभामुख सापकोटाले एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भन्नेजस्तो आवेगपूर्ण अभिव्यक्ति दिनुभयो’ भन्ने उल्लेख छ ।
एमालेको विज्ञप्तिः
लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर एमालेले गरेको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको विज्ञप्तिमा उल्लेख छ । साथै, सापकोटाले एमसीसीसम्बन्धी प्रस्ताव टेबल गर्नुपरेमा आत्महत्या गर्छु भनेको विषयको पुष्टि गर्न ध्यानाकर्षण गराइएको छ ।
‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।’
आफ्नो राजनैतिक अभिष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा सभामुख सापकोटाको सचिवालयले अनुरोध गरेको छ ।
सम्माननीय सभामुखज्यूको सचिवालय प्रेस नोट:
सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन खोजिएको विषय स्पष्ट गर्न यो प्रेस नोट जारी गरिएको छ ।
देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिनु भएका सम्माननीय सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिन्छ ।
नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानूनले तोकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनु भएका सम्माननीय सभामुख विरुद्ध कपोलकल्पित एवं भ्रमपूर्ण विषयको उठान र दुस्प्रचार खेद जनक छ ।
उहाँले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं ।
आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।
१८ फागुन २०७८
श्रीधर न्यौपाने
प्रेस विज्ञ