पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । बिहीबार भोलि देखि सुरु हुने प्रतियोगिताको आज पत्रकार सम्मेलनका आयोजना गरी आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले ट्रफी सार्वजनिक गरेको हो ।
यसैबिच प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको छ ।
भोलि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगिता उद्घाटन गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार धनगढी रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र भारतको दिल्ली फुटबल क्लब भिड्ने छन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती यूथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता आयोजनामा एक करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।