नेपाली काङ्ग्रेस कैलालीको सभापति होडबाट बाहिरिएका शेखर समूहका रामबहादुर कलेल र उनको समूहले सभापतिका उम्मेदवार प्रकाश बमलाई समर्थन जनाएको छ ।
सो समूहले बुधबार धनगढीमा पत्रकार गरेर सभापतिका उम्मेवार बमलाई सहयोग गर्ने जनाएको हो । पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कलेलले १९७ मत पाएका थिए । पहिलो चरणको निर्वाचनमा एक हजार १६९ मत पाएका बमले विधान अनुसार सभापतिमा जितका लागि ७४ मत पुगेन । उनले जित्न एक हजार २४३ मत ल्याउनु पर्ने थियो।
त्यस्तै, सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ मत पाएका थिए । उनी जित्नका लागि १७१ मत पुगेको थिएन ।शेखर समूहको आफ्नो उम्मेदवार चुनावी होडबाट बाहिरिएपछि सो पक्षका नेताहरु पनि विभाजित भएको जनाइएको छ । इतर पक्षकका कमल शाहले भट्टलाई समर्थन गरेको स्रोतले जनायो ।
काङ्ग्रेस कैलालीको सभापति चयनका लागि आज दोस्रो चरणको चुनाव हुँदैछ । शेखर समूहका कलेल र उनको समूहले बमलाई समर्थन जनाएपछि अघिल्लो मत परिणाम अनुसार बम बलियो देखिएका छन् । तर, शेखर समूहकै शाह भट्टतिर लागेको भनिएकाले चुनाव अझ रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
सभापतिका उम्मेदबार बमका प्यानललाई नेपाली काङ्ग्रेस कैलालीका निवर्तमान सभापति नरनारयाण शाह ‘मनु’ लगायतका नेताहरुको समर्थन रहेको जनाइएको छ ।
यस्तै, भट्टको प्यानललाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, इश्वरी न्यौपाने, जीवन राना लगायतका नेताहरुको समर्थन रहेको बताइएको छ ।