शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री शेर बहादुर देउवाले शुधकामना व्यक्त गरेका छन् ।
उनिहरुले छुट्टाछुट्ट शन्देश जारी गर्दै सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन् ।
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले आज दिएको शुभकामना सन्देशमा यस्ता पर्वका माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि भई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् ।
हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिकरूपमा विविधतायुक्त छ, त्यसैगरी सामाजिक र सांस्कृतिक विविधतालेसमेत सुसज्जित छ भन्दै सन्देशमा राष्ट्रपतिले हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गरेकी छन् ।ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले सन्देशमा भनेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज शुभकामना दिँदै उनले ग्याल्पो ल्होसारले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका छन्।
यता प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
उनले शुभकामना सन्देशमार्फत नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै यहाँ हरेक जातजातिका आआफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति भए पनि सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान भएको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सरकारले सन् २००७ सेप्टेम्बर १३ मा आदिवासीको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्रावधानलाई अनुमोदन गरिसकेको र सोअनुसार महासन्धि कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
उनले सरकार अल्पसङ्ख्यक र सिमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्वद्र्धनका लागि सदैव क्रियाशील रहेको बताएका छन्।
प्रधानमन्त्री देउवाले शेर्पा समुदायको नयाँ वर्ष २१४९ ले नेपालीबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत र्पुयाइ राष्ट्रिय एकतामा थप बल र्पुयाउने विश्वास लिएका छन् ।
कोभिड–१९ को महामारी अन्त्य नभइसकेको वर्तमान अवस्थामा सतर्कतापूर्वक स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गर्दै उनले ग्याल्बो ल्होसारले मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।