प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावसम्मै गठबन्धन हुने बताएका छन् ।
बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस सभापति समेत रहेको प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग गरेकोमा धन्यवाद दिँदै सो कुरा बताएका हुन् ।
स्रोतले भन्यो, ‘प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन चुनाव र त्यसपछि गठन हुने सरकारसम्मै रहने बताउनुभयो ।’
बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नेतृत्व गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले पनि प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री देउवाले अमेरिकाले अझै आर्थिक सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए ।
बैठकमा मूलतः एमसीसी कार्यान्वयन, विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाको विषयमा छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
खासगरी, एमसीसी परियोजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने भएकोले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको उनले बताए ।
उनले भने, ‘सार्वभौम संसदमा अवरोध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल भयो ।’