फागुन २० गते अर्थात भोलि शुक्रबारदेखि देशव्यापी एकैसाथ प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लप्पन छप्पन २’ ले सकारात्मक प्रतिक्रिया पाएको छ ।
बिहीबार काठमाडौंमा प्रिमियरपछि प्रतिक्रिया दिँदै सहभागीहरुले चलचित्र ‘लप्पन छप्पन २’ राम्रो रहेको प्रतिक्रिया दिए ।
कमेडियन हिमेश पन्तले ‘लप्पन छप्पन २’ राम्रो चलचित्र रहेको बताए । उनले गुणस्तर राम्रो रहेको र राजनीतिसँगै एक्सन र कमेडीले आफ्नो मन जितेको बताए ।
लप्पन छप्पन १ पनि हेरेको बताउने सागर थापाले लप्पन छप्पन २ झनै उत्कृष्ट बनेको प्रतिक्रिया दिए । ‘लप्पन छप्पन २’ अन्य नेपाली चलचित्र भन्दा भिन्न बनेकोले सबैले एकपटक हेर्नुपर्ने उनले बताए ।
उनले भने, ‘नेपाली फिल्म सधै एउटै किसिमका हुन्थे । तर, लप्पन छप्पन २ अन्य नेपाली फिल्म भन्दा बेग्लै, उत्कृष्ट र गुणस्तरीय छ । सबैले एकपटक हेर्नुपर्ने फिल्म जस्तो लाग्यो ।’
रमेश मगरले ‘लप्पन छप्पन २’ चलचित्र पूर्ण व्याकेज भएको बताए । चलचित्रले नेपालको सत्ता परिवर्तनमा विदेशी शक्ति र पैसाको चलखेल कसरी हुन्छ भनेर नेपाली राजनीतिको वास्तविक चित्रण गरेको उनले बताए । साथै एक्सन र कमेडीले फिल्मलाई पूर्ण र उत्कृष्ण प्याकेज बनाएको उनको भनाइ छ ।
अभिनेता शिव श्रेष्ठका छोरा शक्तिले शक्तिले चलचत्रि अपेक्षा गरेको भन्दा उत्कृष्ट बनेको बताए । उनले कथावस्तु पृथक रहेको कारण चलचित्र हेरेपछि दर्शकले नयाँ स्वाद पाउने बताए ।
चलचित्रका निर्देशक मुकुन्द भट्टले चलचित्र उत्कृष्ट बनेकोले एकपटक दर्शकलाई हलमा आएर हेरिदिन आग्रह गरे ।
अभिनेता श्रेष्ठले सकारात्मक देशभक्ति विषयवस्तुमा आधारित फिल्म भएकाले हलमा पुगेर हेर्न दर्शकलाई अपील गरे । महामारीपछि बक्सअफिसलाई चलायमान बनाउन फिल्मले भूमिका खेल्ने उनको अपेक्षा छ ।
फिल्मका कलाकार अर्पण थापाले हलसम्म फर्किन नपाएका दर्शकलाई ग्याङस्टर कथावस्तुले मनोरञ्जन दिने आशा व्यक्त गरे ।
चलचित्रमा के छ ?
चलचित्रले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ । नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेल कसरी हुने गरेको छ भन्ने देखाएको छ
बहुप्रतिष्ठित चलचित्र लप्पन छप्पन २ ले नेपालको वर्तमान राजनीति अवस्थाको सचित्र वर्णन त गरेको छ नै, सँगै हलमा पुगेका दर्शकहरुले कलाकारहरु सौगात मल्ल, अनुप विक्रम शाही, शिव श्रेष्ठलगायतको भरपुर एक्सनको मज्जा पनि लिन पाउनेछन् ।
फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिनालगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
अधिकाशं दृश्य विदेशका विभिन्न ठाउँमा ३ वर्ष लगाएर सुटिङ गरिएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाएसँगै निर्माण पक्षले चलचित्रले राम्रो व्यापार गर्नुका साथै कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा गरेका छन् ।
‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी छ भाषामा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुने बताइएको छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा सुदीपचन्द्र बख्रेल, चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र बख्रेल निर्माताको रुपमा छन् । मिडिया सुपरभाइजरमा ऋषब ओझा रहेका छन् ।
पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।