मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो ।
जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे । दिल्लीका लागि कृष्णले एक गोल फर्काए ।मनाङले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।खेलको ६९ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ७८ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ८० औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।