नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको हो ।
एक्सन मुभी ‘लप्पन छप्पन–२’मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् । शुक्रबार आजदेखि देशव्यापी एकैसाथ प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लप्पन छप्पन २’ ले सकारात्मक प्रतिक्रिया पाएको छ ।
बिहीबार काठमाडौंमा प्रिमियरपछि प्रतिक्रिया दिँदै सहभागीहरुले चलचित्र ‘लप्पन छप्पन २’ राम्रो रहेको प्रतिक्रिया दिएका थिए ।
चलचित्रमा के छ ?
चलचित्रले वर्तमान नेपालको राजनीतिक अवस्थाको चित्रण गरेको छ । नेपालको सत्ता परिवर्तनमा विदेशी शक्तिको चलखेल कसरी हुने गरेको छ भन्ने देखाएको छ
बहुप्रतिष्ठित चलचित्र लप्पन छप्पन २ ले नेपालको वर्तमान राजनीति अवस्थाको सचित्र वर्णन त गरेको छ नै, सँगै हलमा पुगेका दर्शकहरुले कलाकारहरु सौगात मल्ल, अनुप विक्रम शाही, शिव श्रेष्ठलगायतको भरपुर एक्सनको मज्जा पनि लिन पाउनेछन् ।
फिल्ममा शक्ति श्रेष्ठ, प्रकाश कुँवर, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिनालगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
अधिकाशं दृश्य विदेशका विभिन्न ठाउँमा ३ वर्ष लगाएर सुटिङ गरिएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाएसँगै निर्माण पक्षले चलचित्रले राम्रो व्यापार गर्नुका साथै कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा गरेका छन् ।
‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी छ भाषामा डिजिटल प्लेटफर्ममार्फत रिलिज भएको बताइएको छ ।
खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेको छ । सिनेमा निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।
सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा सुदीपचन्द्र बख्रेल, चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र बख्रेल निर्माताको रुपमा छन् । मिडिया सुपरभाइजरमा ऋषब ओझा रहेका छन् ।पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।