मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौँरी मरेका छन् ।
छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२, कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ चौँरी मरेका हुन् ।
शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए । “चौँरी बास बसेको खर्कमा बिहान ३ बजे हिउँपहिरो खसेको थियो,” उनले भने, “हिउँले पुरिएर चौँरी मरेका हुन् ।”
चौँरी खर्कमा राखेर गोठाला कोवाङ झरेका थिए । बिहान गोठाला जाँदा चौँरी मरेका भेटिएपछि अरूलाई खबर गरेका थिए । प्रहरी, कृषक र पशु सेवा प्राविधिकको टोली क्षतिको विवरण संकलनका लागि घटनास्थलतर्फ गएको छ ।
हिउँदमा जाडो छल्न बेसी झारिएका चौँरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ ।
गत कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । मुस्लोसहित हिउँपहिरो खसेपछि भाग्ने क्रममा कोवाङका अमरसिंह माविका नौ शिक्षक विद्यार्थी घाइते भएका थिए । नाउरीकोटका सकेन्द्र गौचन र भीम थकालीका २१ वटा याक र नाक मरेका थिए ।