सकृय सदस्यताको विवाद देखी कनेकन कारणले पटक–पटक स्थगित हुँदै आएको नेपाली काँग्रेस बाराको अधिवेशन फागुन २१ गते गर्ने निश्चिित भएको थियो ।
तय समय अनुसार निर्वाचनका कार्यतालिकाहरु समेत सार्वजनिक भए, तर समयमै मतदान प्रकृया शुरु भएन् ।
बिहान ८ बजे कलैया स्थित सिद्धेश्वर माविको प्रायंगनमा हुने भनिएको निर्वाचन दिउँसो १ बजेबाट मात्र शुरु भयो ।
निर्वाचन समितिको तयारी पुरा नभएको र मतपत्र छपाईमा ढिलाई भएकाले मतदान प्रकृयामा विलम्ब भएको निर्वाचन समितिले जनाएको थियो ।
तर, दिउँसो १ बजे शुरु भएको मतदान प्रक्रिया बेलुकी ७ बजे विवादीत बन्यो । कुल २ हजार ५ सय ८६ मतदाता रहेको उक्त निर्वाचनमा करिव १५ सय प्रतिनिधिहरुले मत खसालिसकेका थिए ।
साँझ पर्दै गएपछी मतदान प्रकृयामा धाँधली र अनियमितता भएको, सभापतिका उम्मेदवार नै मतदान स्थलमा प्रवेश गरी बोकस मत खसाल्न थालेको लगायतका आवाज उठ्यो र राति करिब ९ बजे निर्वाचन बदर भएको घोषणा निर्वाचन समितिले गर्यो ।
पछी सबै पक्षको रोहबरमा मतपेटीमा खसालिसकिएको मतपत्र जलाईयो र निर्वाचनको मिति आईतवार तोक्ने निर्णय भयो । आईतवार सबै पक्षका उम्मेदवारहरुको संलग्नतामा बैठक बस्यो र फेरी फागुन २५ गते मतदान प्रकृया शुरु गर्ने निर्णय भयो ।
किन भयो विवाद, किन जलाईयो मत्रपत्र ?
काँग्रेस बाराको कार्यसमितिका लागी ३ वटा प्यानल चुनावी मैदानमा छन् । संस्थापन (देउवा) समुहबाटै २ उम्मेदवार छन भने संस्थापन ईत्तर पक्षबाट एउटा प्यानल चुनावी मैदानमा छ ।
देउवा समुहबाट कलैया उपमहानगरपालिका मेयर समेत रहेका राजेशराय यादव तथा शम्भु बहादुर बुढाथोकी आ–आफ्नो प्यानलका सांथ चुनावमा भिडेका छन् । कोईराला समुहबाट यसअघी २ पटक काँग्रेस बाराको सभापतीमा पराजित भईसकेका पुराना नेता रामानन्द यादवले आफ्नो प्यानल खडा गरेका छन् ।
जिल्लामा यसअघी भएका क्षेत्रीय निर्वाचनहरुमा देउवा पक्षका दुबै उम्मेदवार एउटै समुहमा हुँदा समेत झिनो मतान्तरले पराजित भएका रामानन्द यादव समुहका नेताहरुले आफुहरु जिल्ला अधिवेशनमा जित्ने दावी गरिआएका छन् ।
क्षेत्रिय निर्वाचनको तथ्यांकलाई आधार बनाईए देउवा समुह २ भागमा बाँडिदा आफुहरुले ५० प्रतिशत भन्दा बढी मत ल्याएर जित्ने दावी उनिहरुको छ ।
शनिवारको मतदानमा समेत आफुहरुलाई पुर्ण समर्थन पाउन थालेपछी रामानन्द समुहलाई हराउने साजिसका साँथ अन्य दुई समुहले निर्वाचन समितिको मिलेमतोमा मतदान रद्द गराएको आरोप रामानन्द समुहबाट सचिव पदमा चुनाव लडिरहेका नेता राजेश रौनियारले लगाएका छन् ।
रौनियारले दुवै प्यानलका उम्मेदवारहरु पहिलो चरणमै हार्ने आँकलन गरेपछी साजिस गरेर बवाल खडा गरेको बताएका छन् । २५ गते हुने निर्वाचनमा आफुहरुले नै बहुमतका साँथ जित हासिल गर्ने उनले दावी गरेका छन् ।
यता, सभापतिका अर्का उम्मेदवार बुढाथोकी पक्षले देउवा समुहकै अर्का उम्मेदवार राजेशराय यादवका कार्यकर्ताहरुले जबरदस्ती मतपत्र कब्जा गरेर ‘बोकस’ मत खसालेपछी विवाद भएको बताएको छ ।
काँग्रेस कलैया उपमहानगर कमिटिका सचिव समेत रहेका बुढाथोकी समुहका नेता मुकेश यादवले मेयर पदको गलत प्रयोग गरी राजेशरायले मतदान केन्द्र कब्जा गर्न खोजेकोले विवाद भएको आरोप लगाएका छन् ।
उनले राजेशरायको समुह पहिलो चरणमै पराजित हुने स्थिति आएपछी मतदानलाई प्रभावित गर्न निर्वाचन समितिको मिलेमतोमा चुनाव रद्द गराएको आरोप लगाएका छन् ।
यथापी आईतवार सम्पन्न तिनै समुह सम्मिलित बैठकले आउँदो २५ गते हुने मतदानको पुर्व तयारी गर्ने तथा व्यवस्थित तरिकाले विवाद रहित वातावरणमा अधिवेशन सम्पन्न गर्ने सहमति गरेका छन् ।