गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन गृह विभागीय १२औँ अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताए । ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न’, गृहमन्त्री खाँणले भने ।
एमसीसीले विद्युत्मा विकास, गरिबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युत्को ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाँणले बताए ।
उनले विद्युत्को तारबाट विद्युत् आउने, विदेशी सेना नआउने बताए । उनले भने, ‘तारबाट विद्युत् आउँछ, सेना आउँदैन । राष्ट्रियतालाई सबल बनाउन एमसीसी ल्याइएको हो ।’
उनले नेपालमा उत्पादित विद्युत् खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनीयता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियो ।
एमसीसी ऋण नभई अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रम मात्रै भएको बताए । उनले भने, ‘एमसीसी ऋण होइन, अनुदान हो । आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’
एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने उनको भनाइ थियो । यो सहयोगबाट परिचालित आयोजनाको लेखा परिक्षण गर्ने अधिकार महालेखा परीक्षकको कार्यालयलाई हुने उनले बताए।