सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पा सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा सोमबार भएको खेलमा आयोजक तथा साविक विजेता सुदूरपश्चिम-११ लाई २-१ गोल अन्तरले हराउँदै हिमालयन अन्तिम चारमा पुगेको हो ।अब हिमालयन सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।
प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे ।यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे ।
खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका थिए ।५५ औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २-० ले अघि रह्यो ।त्यसपछि खेलको ६७ औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २-१ ले विजयी भयो ।
आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।