विभागीय टोली त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।बुधबार भएको क्वाटरफाइनल खेलमा पाहुना टोली दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लब (एमएफसी) माथि ३–० गोल अन्तरको जित दर्ता गर्दै आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो ।
आर्मीका जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले गोल गरे ।सुरुवातबाटै दबाब बनाएको आर्मीले खेलको १० औं मिनेटमा सन्तोषको गोलबाट अग्रता बनायो ।
३५ औं मिनेटमा कप्तान जर्ज प्रिन्सले २३ यार्ड टाढाबाट गरेको प्रहार सोझै जाली चुम्दा आर्मीले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल रहयो ।खेलको ६८ औं मिनेटमा विकासले गोल गरेपछि ३–० गोल अन्तरको स्पष्ट जितका साथ आर्मीले सेमिफाइनलमा स्थान बनाएको हो । त्यसैगरी, खेल अवधिमा दुवै टोलीले उल्लेख्य मुभ बनाउन सकेनन् ।
खेलको सुरुवाती १९ औं मिनेटमा एमएफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ५२ औं मिनेटमा एमएफसीकै आदर्श तामाङले डिएरियाबाट गरेको हेडर पोस्ट माथिबाट बाहिरियो ।
६५ औं मिनेटमा आर्मीका विवेक बस्नेतको पासमा कमल थापाले डिएरियाबाट गरेको हेडर बार नजिकैबाट बाहिरियो । ७८ औंमिनेटमा एमएफसीका कप्तान प्रतीक लामाको क्रस पास रोबर्ट खोन्जोले सदुपयोग गर्न सकेनन् । ८६ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठको कडा प्रहार विपक्षी गोलरक्षक कुन्जाङ भुटियाले नियन्त्रणमा लिए ।
खेलको प्लेयर अफ दि म्याच आर्मीका विकास तामाङ घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए ।प्रतियोगिता अन्तर्गत बिहीबार घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ ।
सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।