मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुने १४ जनाकै सनाखत भएको छ ।
मृत्यु हुनेहरु एउटै नगरपालिकाका ११ जना रहेका छन् । मृत्यु हुनेमा मादी नगरपालिका–६ की ३० वर्षीया सिता विक, ३२ वर्षीया अञ्जना कटवाल, ५ वर्षीया दिक्षा कटवाल, वडा –५ बस्ने ४९ वर्षीय भवानीप्रसाद दाहाल, ५५ वर्षीय श्याम शेर्पा र बसका सहचालक ३५ वर्षीय उमेश भट्टराई, वडा–४ बस्ने ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सविता कार्की र आइतबहादुर तामाङ, वडा –२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी, वडा–२ बस्ने ४२ वर्षीय इन्द्र अधिकारी रहेका छन् ।
त्यस्तै, दुर्घटनामा ताप्लेजुङ घर भएकी ३१ वर्षीया समिक्षा योन्जन र उनका ८ वर्षीय छोरा सुदिप घिसिङ तथा तेह्रथुमको फाक्चामारा घर भएका ३१ वर्षीय बसका चालक विपिन निरौलाको पनि मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले घाइते ५ जनाको उपचार भइरहेको जानकारी दिए । घाइते मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्कीको उपचार भइरहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको थियो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।