रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले बताएको छ ।
उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताए ।
रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गरे । युक्रेनलाई हतियार दिएर उनले पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उनले बताए ।
कसले के भने?
कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताए । उनले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुनः भेट्न तयार रहेको बताएका छन् ।
उनले भने, ‘म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु ।’ लाभ्रोभले मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरताबारे छलफल भएको बताए ।
उनले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्याउँदै तथाकथित स्थल प्रतिरक्षा फौजले त्यसो गरेको बताए ।
कुलेबाले मारिओपोलबाट मानिसहरूलाई अन्यत्र जान दिने निकासमार्ग र २४ घण्टे युद्धविरामलाई प्राथमिकता दिनुपर्ने बताए ।
लाभ्रोभले क्रेम्लिनका निर्णयकर्तासम्म त्यो कुरा पुर्याउने अपेक्षा व्यक्त गरे । रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उनको भनाइ थियो ।
लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाए ।
युक्रेनस्थित एउटा अस्पतालमा गरिएको रुसी आक्रमणबारे भइरहेको निन्दाबारे प्रतिक्रिया दिँदै उनले विश्वभरि सार्वजनिक मतलाई प्रभावित पारिएको दाबी गरे । उनले रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने बताउँदै आफ्नो देशल यो सङ्कटबाट मुक्त हुने दाबी गरे ।
रुसका विदेशमन्त्री लाभ्रोभले युक्रेनमा नागरिकहरूलाई तथाकथित स्थल प्रतिरक्षा फौजले बन्दी बनाएको र उनीहरूलाई मानवढालका रूपमा प्रयोग गरेको आरोप लगाए ।
युक्रेनी विदेशमन्त्रीसँगको भेटमा मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरताबारे छलफल भएको उनले बताए । उनले नागरिकहरूलाई अन्यत्र जाने निकासमार्ग रुसले दिइरहेको दाबी गरे ।
भेटर्वार्ता
युद्धमा रहेका दुई देशका विदेशमन्त्रीहरू छुट्टाछुट्टै पुगेका थिए । युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबालाई उनका टर्किस समकक्षीले स्वागत गरेपछि रुसका सर्गेई लाभ्रोभ आइपुगेका थिए।
यो वार्तामा व्यापक रुचि थियो । पत्रकार सम्मेलनस्थल आन्ताल्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू भरिभराउ थिए।
वार्ताहरू बन्द कोठाभित्र भएको थियो र दुवै प्रतिनिधिमण्डलले त्यो सकिएपछि पत्रकार सम्मेलन गरेका थिए । तर वार्ताबाट अपेक्षाहरू निकै कम थिए । बीबीसी