नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले प्रदेशमा काँग्रेसको मुख्यमन्त्री बनाउन आफू सभापतिको पदमा आएको बताएका छन् ।
नेपाली काँग्रेस कैलालीको नव निर्मित वीपी स्मृति भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । आम जनताले आफू अब मुख्यमन्त्री बन्न आएको होला भन्ने बुझाइ भए पनि आफू नभई काँग्रेसको मुख्यमन्त्री बनाउन आएको बताए ।
‘प्रदेशको सभापति हुने इच्छा थिएन मेरो’, उनले भने, ‘तर कहाली लाग्दो प्रदेशको जुन काँग्रेसको अवस्था भयो । यहाँ मान्छेलाई के लाग्ला मुख्यमन्त्री । म मुख्यमन्त्री नभई यहाँ काँग्रेसको मुख्यमन्त्री बनाउन आएको हुँ । म आफू मुख्यमन्त्री बन्न आएको होइन । काँग्रेस भइराख्ने काँग्रेससंग हिँडिराख्ने अनि काँग्रेसलाई छुरा हानिराख्ने, जुन दिन काँग्रेसलाई चाहिने हो जुन दिन काँग्रेस नभइदिनेले काँग्रेस नहोस् भन्नको लागि म आएको हुँ । ’
उनले अहिले काँग्रेसलाई चिन्ने बेला आएको बताउदैँ काँग्रेसलाई बलियो बनाउने दिशातिर हिनिएन भने पार्टीले स्पष्टीकरण समेत सोध्ने बताए ।
‘अहिले काँग्रेसलाई सबैतिर चिनाउने, बलियो बनाउने बेला आएको छ । यदि पार्टीको यात्रालाई बलियो बनाउने दिशातिर हिनिएन भने चिठ्ठी आउँछ । स्पष्टीकरण सोध्छु । मैले शुद्ध काँग्रेस बाहेक केही देखेको छैन् । कमन्यूष्टि सङ्घ हातेमालो गर्नेहरू सङ्घ सम्बन्ध हुँदैन याद गर्नुहोला । काँग्रेस एक ठाउँमा जुरुक्क उठ्ने हो भने कुनै कम्युनिष्टको तागतले काँग्रेसलाई तहले लगाउन सक्दैन,’ उनले भने ।
एक अर्कालाई ग्रहण गर्न नसक्ने हो भने काँग्रेस अगाडि बढ्न नसक्ने उनले बताए । अहिले सहमति र असहमति रहे पनि त्यसलाई आत्मीयता र आपसी मेलमिलाप गर्न आवश्यक रहेको बताए । यस्तै उनले नेता कार्यकर्तालाई आफूलाई उम्मेदवारका रूपमा भएर कार्यकर्ताको विभाजन नगर्न आग्रह गरे ।