निर्वाचन आयोगले अघिल्लो स्थानीय तहको चुनावमा तोकिएको उम्मेदवार खर्च सीमालाई नै आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पनि निरन्तरता दिएको छ ।
आज शुक्रवार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा आयोगले उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले केही दलले समयअनुसार खर्च सीमा बढाउनुपर्ने बताएका भए पनि धेरैजसोले खर्च सीमामा सहमति जनाएका बताए ।
निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार महानगरपालिकाको मेयर र उपमेयर पदका उमेदवारले बढीमा सात लाख ५० हजार रुपैयाँसम्म मात्रै खर्च गर्न पाउँछन् ।
यस्तै उपमहानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले साढे पाँच लाख र नगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवार बनेकाले चार लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् ।
यस्तै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारले बढीमा तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।वडाध्यक्ष तथा सदस्यका उम्मेदवारमध्ये महानगरतर्फ तीन लाख ५० हजार, उपमहानगरपालिकातर्फ दुई लाख ५० हजार, नगरपालिकामा दुई लाख र गाउँपालिकामा एक लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउनेछन् ।