दुईदिन अगाडी गायक प्रकाश सपुतले युट्युबमा सार्वजनिक गरेका ‘पिर’ बोलको नयाँ गितलाई हटाउन शनिवार नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र वाईसिएलका नेताहरुले धम्की दिए ।
माओवादी जनयुद्धमा लडेका लडाकुहरुको पिडालाई झल्काउन खोजिएको भिडियो सहितको उक्त गित आफ्नो पार्टीको बिरुद्धमा भएको भन्दै माओवादीका युवा तथा बिधार्थी नेताहरुले धम्की दिएका थिए ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र वाईसिएलका नेता रञ्जित तामाङले सार्वजनिक रुपमै धम्कीपुर्ण भाषामा उक्त गितलाई युटुसबबाट हटाउन गायक सपुतलाई भनेका थिए ।
यता, माओवादीको युवा बिधार्थी संगठनका नेताहरुले गायक सपुतलाई धम्की दिएपछी त्यसको प्रतिवादमा नेकपा एमालेको भातृ संगठन युथ फोर्स नेपाल सामुन्ने आएको छ ।
युथ फोर्सका संयोजक पुष्पराज श्रेष्ठले आज एक प्रेस विज्ञप्ती जारी गर्दैं गायक सपुतलाई धम्की दिने नेता तथा संगठनको प्रतिकारमा युथ फोर्स उत्रन सक्ने चेतावनी दिएका छन् ।
उनले कलाकारको सृजनालाई राजनितिक रुप दिएर त्यसको कानुनी स्वतन्त्रतामाथी आघात पुर्याउने अभिव्यक्ति वा क्रियाकलापको आफुहरुले प्रतिकार गर्ने बताएका हुन् ।
विज्ञप्तीमा कलाकारले आफ्नो कलाकारिताबाट यथार्त चित्रण गर्दा उल्टै धम्की दिईनु ‘चोरको खुट्टा काट भन्दा चोरले खुट्टा तान्नु’ सरह भएको संयोजक श्रेष्ठले उल्लेख गरेका छन् ।