प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई लिएर आफ्नो आलोचना गरेपछि एमाले नेता डा.भीम रावलले जवाफ दिएका छन् ।
देउवाको अभिव्यक्ति झुठा र उदण्डतापूर्ण रहेको रावलको आरोप छ । नेता रावलले प्रधानमन्त्रीले आफूमाथि तुच्छ शब्द प्रयोग गरेको भन्दै पदीय मर्यादा कायम गर्न आग्रह गरेका छन् ।
देउवाले के भनेका थिए ?
सोमबार नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोल्दै देउवाले मन्त्री भएको रावलको ‘दिमाग खुस्क्याथ्यो’ भन्दै लाज छैन भनेर प्रश्न गरेका थिए ।
देउवाले भनेका थिए ‘एमसीसी पास गर्नुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारले निर्णय गर्यो । भीम रावल त्यतिबेला रक्षा मन्त्री हुनुहुन्थो । किन राजीनामा गरेनन् ? किन विरोध गरेनन् ? त्यतिबेला विपक्षमा आउनुभएन । दुई जिब्रे बन्ने । त्यतिबेला दिमाग खुस्क्याथ्यो । लाज छैन ।’
देउवालाई रावलको जवाफ
देउवाको उक्त भनाइको जवाफ दिँदै भीम रावलले आफ्नो नभएर देउवाको दिमाग खुस्केको बताएका छन् ।
जवाफ दिँदै रावलले भनेका छन्, ‘सामान्य जानकारी नराखेर बोल्ने प्रधानमन्त्री देउवाको दिमाग खुस्केर होस गुमेको हुनुपर्छ वा जनतामा भ्रम छरेर देशहीत विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’
रावलले देशघात गर्न चहिच्किचाउने देउवाको जस्तो चरित्र नभएकोले राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर आफ्नो टाउको दुखेको बताएका छन् ।
उनले एमसीसीका विषयमा देउवासँग बहस गर्न तयार रहेको उल्लेख गरेका छन् ।
हेर्नुस्, रावलको ट्वीटः