मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।
समाजको २४औं बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गरेको व्यक्तव्यमा उल्लेख छ । कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते सम्पन्न बैठकमा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी अधिकारकर्मी सहभागी थिए ।
‘बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको उनले जानकारी दिए ।
न्यायालय शुद्धिकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधान न्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न र अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको छ ।