जनमत पार्टीद्धारा बिगत केही महिनादेखी जारी ‘जनमत माटो यात्रा’ बारा जिल्लामा चौथो दिनमा प्रवेश गरेको छ ।
फागुन २८ गतेदेखी बारा पुगेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउत लगायतका नेताहरुले बाराका विभिन्न पालिकाहरुबाट माटो संकलन गरिरहेका छन् ।
आज (मंगलवार) जिल्लाको बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, देवताल गाउँपालिका, करैयामाई गाउँपालिका र महागढीमाई नगरपालिकामा माटो संकलन कार्यक्रम रहेको जनमत पार्टी बाराका सचिव बिजय गुप्ताले जनाएका छन् ।
बुधवार प्रसौनी गाउँपालिका, कलैया उपमहानगरपालिका, परवानिपुर गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा माटो संकलन कार्य हुने सचिव गुप्ताले बताए ।
फागुन २८ गते बारा आएका डा. राउतले जिल्लाको एतिहासिक स्थल सिम्रौनगढ नगरपालिका स्थित रानीवासको रामजानकी मन्दिर प्राङगनबाट माटो संकलन यात्रा प्रारम्भ गरेका थिए ।
सिम्रौनगढपछी डा.राउतले आदर्श कोतवाल गाउँपालिका, बारागढी गाउँपालिका, कोल्हवी नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण गाउँपालिकामा माटो संकलन गरेको जिल्ला सचिव गुप्ताले जनाएका छन् ।
जनमत माटो संकलन अभियानसंगै डा. राउतले ति पालिकाहरुका विभिन्न स्थानहरुमा जनसभा तथा घरदैलो अभियान समेत गरेको गुप्ताले जनाए ।
स्थानिय निकाय निर्वाचन नजिकिदै गएपछी जनमत पार्टीले आफ्नो संगठन सुदृद्धिकरण तथा जनअभियान तिब्र पार्ने क्रममा डा.राउतले माटो यात्रा पुनः प्रारम्भ गरेका हुन् ।
पश्चिम मधेशबाट शुरु भएको माटो यात्रा मधेशका सबै जिल्लाको हरेक पालिकाहरुमा पुगेर माटो संलन गरी समाप्त हुने बताईएको छ ।