राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले मंगलबार मोरङको रतुवामाई नगरपालिका– ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र २३ वर्षीया बिनिता लिम्बुबिरुद्ध क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ जरिबाना माग गरेर मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी ७ करोड ५७ लाख र लिम्बुले एनआईसी एसियाबाट २ करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ ।
हेर्नुस् विभागले यससम्बन्धमा जारी गरेको विज्ञप्तिः
राजस्व अनुसन्धान विभागबाट निम्न विवरण सहितको विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धीमुद्दाकाठमाडौं जिल्ला अदालतमा मिति २०७८।११।30 मा दायर गरिएको छ।
१. अभियुक्तको विवरणः
• मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ को पुस्कर श्रेष्ठ
• मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २३ को बिनिता लिम्बु
२. कसुरको संक्षिप्त विवरणः विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य।
३. कायम भएको विगो र सजायको मागदाविः प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुले 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहि कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले मेगा बैंकबाट रु.86,83,429.85 सिटिजन्स बैंक रु. 251,76,099.97 एन.आई. सि.एशिया बाट रु. 1,82,49,889.32 र राष्ट्रिय वाणिज्य बैंकबाट रु. २,३६,६२,५३९.३८ समेत जम्मा रु. ७,५७,७१,९५८.५२ तथा बिनिता लिम्बुले एन.आई. सि.एशिया बाट रु. 2,16,98,024.74 समेत जम्मा रु. ९,७४,६९,९८३.26 (अक्षेरुपी नौ करोड चौहत्तर लाख उन्नसत्तरी हजार नौ सय त्रियासी रुपैया छब्बिस पैसा) रकम यी प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी लिइएको ।
सूचना अधिकारी
राजस्व अनुसन्धान विभाग