युक्रेन सरकारका एक सल्लाहकारले ढिलोमा मे महिनाको सुरुतिर युद्ध सकिने आफ्नो अपेक्षा रहेको बताएका छन् । त्यतिबेलासम्म रुससँग आक्रमणका लागि आवश्यक स्रोतसाधनको अभाव हुनेछ ।
‘मलाई लाग्छ मेभन्दा पछि हैन, मेको सुरुतिर नै एउटा शान्ति सम्झौता हुनुपर्छ’,ओलेस्की आरेस्तोभिचले भने । उनी युक्रेनी राष्ट्रपतीय कार्यालय प्रमुखका सल्लाहकार हुन् ।
उनले आगामी महिनाहरूमा हुनसक्ने दुईवटा परिदृश्यबारे पनि चर्चा गरे । उनका अनुसार सैनिक फिर्ती र सबै कुरासहित एक–दुई साताभित्र नै शान्ति सम्झौता हुन सक्ने सम्भावना रहेको नत्र दोस्रो चरणका लागि अरूलाई, जस्तै सिरियालीलाई, संलग्न गराएर मध्य वा अप्रिल अन्तिमतिरसम्म एउटा सम्झौता गर्न प्रयास हुनेछ ।
अमेरिकाले यसअघि रुसले युक्रेनमा लड्न सिरियालीहरूलाई भर्ती गरेको दाबी गरेको थियो । तर त्यस्तो दाबी पुष्टि हुन सकेको छैन ।
गत साता रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्कीमा वार्ता भएको थियो । आरेस्तोभिच रुस–युक्रेन वार्तामा संलग्न छैनन् ।
खेअर्सन कब्जामा
रुसको रक्षा मन्त्रालयले युक्रेनको दक्षिणी खेअर्सन क्षेत्र रुसी सेनाको पूर्ण नियन्त्रणमा आएको दाबी गरेको छ ।
केही दिनअघि खेअर्सनवासीहरूले रुसी अतिक्रमणको विरोधमा प्रदर्शन गरेका थिए । उनीहरूलाई चेतावनी दिन रुसी पक्षले हावामा गोली चलाएको देखिएको थियो ।
यस्तै, रुसी सेनाका चारवटा हेलिकप्टर र एउटा विमान खसालेको युक्रेनीले दाबी गरेको छ ।
युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले किएभस्थित एउटा आवासीय भवनमा रुसले हवाई आक्रमण गर्दा दुई जनाको मृत्यु भएको जनाएको छ । बीबीसीको सहयोगमा