नाबालिका जबर्जस्ती करणीको अभियोगमा गैँडाकोट प्रहरी हिरासतमा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ ल्याइएको छ । गैँडाकोटमा अनुसन्धान सकिएपछि प्रहरीले बुधबार (आज) शाहलाई पुन: तनहुँ ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले मंगलबार गैँडाकोट प्रहरीले शाहको बयान सकेर तनहुँ पठाएको बताए । शाह अहिले तनहुँ प्रहरीको हिरासतमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेको छ । जाहेरी परेको पत्र लिएर प्रहरी दमौली आएपछि शाहलाई गत मंगलबार गैँडाकोट पठाइएको थियो ।
शाहविरुद्ध १७ वर्षीया नाबालिगको परिवारले जबर्जस्ती करणी गरेको आरोपसहित ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएको थियो । त्यसको चार दिनपछि शाह प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए ।