होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ ।
होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकामा ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले काठमाडौँ, ललितपुर र भक्तपुर प्रहरी परिसर प्रमुख तथा महानगरीय ट्राफिक प्रहरी प्रमुखलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएका छन् ।
रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको उनले जानकारी दिए ।
महानगरीय प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष राठौरले काठमाडौँमा एक हजार सात सय, ललितपुरमा छ सय र भक्तपुरमा चार सय जना सुरक्षाकर्मी खटाइएको बताए । ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ ।
सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन् ।
हनुमानढोका दरबार वसन्तपुर, ठमेल, दरबारमार्ग, बालाजु, पाटन दरबार तथा भक्तपुर दरबार क्षेत्र, जावलाखेल र सानेपालगायतका क्षेत्रमा विशेष सुरक्षा जनशक्ति खटिएको छ । त्यस्तै, ४४ वटा मोबाइल भ्यान, ७३ वटा सीआरभी (सेन्ट्री रेगुलेट भेइकल) १७९ क्यूआरटी (मोटरसाइकल गस्ती), साइकल गस्ती, पिकेट, रिजर्भ र स्ट्रयाइकिङ सुरक्षा गस्ती टोली परिचालन गरिएको उनले बताए ।
सडक चोक तथा सार्वजनिक स्थानमा मदिरा सेवन गरी हो–हल्ला, समूहगत झैझगडा र क्षमताभन्दा बढी यात्रु राख्नेविरुद्ध कारबाही हुने छ । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले बाक्लो भीड लाग्ने स्थानमा विशेष निगरानी बढाइएको बताए।
विशेष गरी होली पर्व मनाउन सडक चोकमा निस्कने भीडलाई व्यवस्थित गर्न बिहानैदेखि सुरक्षा उपस्थिति बढाइने प्रहरीले जनाएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयबाट थप दुई सय जनशक्ति खटिएको छ ।