रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ ।
रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए । मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे । उनले भने, ‘सहरको केन्द्र बाँकी छैन । सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन ।’
यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन् ।
ढिलो नगरी शान्तिवार्ता गर्न आह्वान
युक्रेनका राष्ट्रपतिले मस्कोलाई “अविलम्ब“ अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन् ।
युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना “गल्ती“ बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ ।
राति गरेको भिडिओ सम्बोधनमा उनले भने, ‘रुसका लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केवल यो मात्र एउटा अवसर हो । यो भेट्ने बेला हो, यो कुरा गर्ने बेला हो, यो भूमिको अखण्डता र युक्रेनका लागि न्याय पुनर्स्थापित गर्ने बेला हो । अन्यथा रुसको क्षति यस्तो हुन्छ कि त्यो पूर्ति गर्न धेरै पुस्ता लाग्छ ।’