अवैध रुपमा लैजान लागेको विदेशी मुद्रासहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा गोरखा बोर्लाङ–८ घर भई काठमाडौं बस्ने २३ वर्षीया रन्जिता श्रेष्ठ रहेकी छन् । उनको साथबाट अवैध रुपमा लुकाई लैजान लागेको १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ ।
कतार एयरलाइन्सको उडानमा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको व्यागेज विमानस्थलमा खटिएको प्रहरीले एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, स्रोत नखुलेको नगद २२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल रहेका छन् । उनलाई कास्कीको पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँसहित पक्राउ गरिएको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरिएको हो ।