स्थानिय निकाय निर्वाचन प्रायोजनका लागी नेपाल प्रहरीले भर्ना गर्न लागेको म्यादी प्रहरीको फर्म भर्न मधेशका जिल्लाहरुमा उत्साह देखिएको छ ।
नेपाल प्रहरीले ४० दिनका लागी १ लाख जना म्यादी प्रहरी भर्ना फर्म भर्ने कार्य आज (चैत्र ६) गते शुरु गरेपछी त्यसका लागी भिडभाड बढेको हो ।
जिल्ला प्रहरी कार्यालय बारामा २ हजार ५ सय २८ जना म्यादी प्रहरीका लागी फर्म वितरण शुरु गरेसंगै जिल्ला प्रहरी कार्यालय कलैयामा तछाड्–मछाड् भएको छ ।
कलैया स्थित प्रहरी कार्यालयमा फर्म भर्नेहरुको संख्या अत्यधिक भएपछी सेवाग्राहीलाई समेत समस्या भएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालयले चैत्र ६ देखी ११ गतेसम्म फर्म भर्ने त्यसपछी म्यादी प्रहरी भर्नाको अन्य प्रकृयाहरु शुरु गर्ने प्रहरीको निर्वाचन सेलले जनाएको छ ।
यसैबिच जिल्ला प्रहरी कार्यालय पर्सामा समेत म्यादी प्रहरीको फर्म भर्न भिडभाड भएको छ । सदरमुकाम विरगञ्जमा फर्म भर्नेहरुको भिड देखिएको हो ।
मधेश प्रदेशका ८ जिल्लामा कुल २१ हजार ६ सय ९८ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरीले जनाएको छ ।
प्रदेशको धनुषा जिल्लामा सबैभन्दा बढी ३ हजार ४ सय ८६ जना र पर्सा जिल्लामा सबैभन्दा कम १ हजार ८ सय १ जना म्यादी प्रहरी भर्ना गरिने जनाईएको छ । अन्य जिल्लाहरुमा दुई हजारभन्दा माथि म्यादी प्रहरी खटाईने छ ।
नेपाल प्रहरीले म्यादी प्ुलिस भई काम गर्नेहरुलाई ४० दिनका लागी ३० हजार २ सय ४० रुपैयाँ तलब, ७ हजार २ सय रुपैयाँ राशन तथा ६ हजार रुपैयाँ पोषाक वापतको रकम उपलब्ध गराउने छ ।