निर्देशक तथा कलाकार सन्तोष लोहनी कलाकारितासँगै मानव सेवामा रमाइरहेका छन् ।
चलचित्र ‘अपमान’मार्फत नेपाली कला क्षेत्रमा नायकको रूपमा डेब्यु गरेका लोहनी ‘कोसिसः मानवताका लागि’मार्फत मानव सेवामा रमाइरहेका छन् ।
साङ्गीतिक यात्रा
लमजुङ जन्मेका लोहनीले चलचित्र ‘नारी’ र ‘शुभ लभ’को निर्देशन गरेका छन् भने आधा दर्जन चलचित्रमा सहनिर्देशनको भूमिका निभाइसकेका छन् ।
सिरियल, म्युजिक भिडियो र पोष्टर विज्ञापनहरूमा अभिनय गरिसकेका उनी कार्यक्रम निर्माता पनि हुन् । उनले नेपाल टेलिभिजनमा ‘हेलो नेपाल’, नेपाल वान टेलिभिजनमा ‘कसलाई सोधौँ मनको कुरा’ र ‘सप्तरंगी’ दुई कार्यक्रम निर्माण गरिसकेका छन् ।
मानव सेवामा रमाउँदै
कलाकारितासँगै उनको अर्को पेशा हो, मानव सेवा । ‘कोसिसः मानवताका लागि’मार्फत उनी मानव सेवामा सक्रिय छन् । समस्यामा परेकालाई सहयोग गर्ने त उनको दैनिकी जस्तै बनिसकेको छ ।
तर, उनी आफूलाई सामाजिक अभियान्ता भने भन्न रुचाउँदैनन् । किन ? उक्त प्रश्नको जवाफमा उनी भन्छन्, ‘अरूको पीडा बेचेर आफ्नो गुजारा चलाउने अभियन्ताका कारण यो अभियान्ता भन्ने शब्द मन पर्दैन ।’
‘कोसिस: मानवताका लागि’ टेलिभिजन कार्यक्रम हो । जुन विगत ५ महिनादेखि प्राइम टेलिभिजनमा हेरक शुक्रबार साँझ ६ः३० बजे र शनिबार १०ः३० बजे प्रशारण हुन्छ ।
उक्त कार्यक्रममा असहाय, साहराविहीन तथा सहयोगको आवश्यकता भएको मानिसको अवस्था देखाइन्छ । जसका कारण असहाय, साहराविहीन तथा सहयोगको आवश्यकता भएको मानिसलाई कार्यक्रमकै तर्फबाटदेखि दर्शक वा अन्य सहयोगी मनहरुले सहयोग गर्छन् ।
कोरोना भाइरसका समयमा सरकारले गरेको निषेधाज्ञाका कारण मानिसहरुले भाग्नुपरेका दुःख, पीडा देखेर मानव सेवामा लाग्न प्रेरित भएको उनी बताउँछन् ।
कार्यक्रमको उद्देश्यबारे उनी भन्छन्, ‘कार्यक्रमको मुख्य उद्देश्य असहायलाई सहारा दिने नै भयो । समस्यामा भएको मान्छेलाई ल्याएर केही सहयोग गर्ने । चहर्याइरहेको घाउँमा केही मलम लगाउने । यो देखेर सहयोग गर्न चाहने व्यक्तिमार्फत उहाँको वास्तविकता देखाउने पनि हो ।’
समस्यामा परेका १५–१६ जना कार्यक्रममै आइसकेका छन् । क्याप्टेन विजय लामाले त न्यानोपनको तर्फबाट कार्यक्रमै ५० हजार रुपैयाँ उपलब्ध गराएका थिए ।
प्रत्येक कार्यक्रममा ३१ हजारदेखि ४१ हजारसम्म सहयोग गरेको उनको दाबी छ । कार्यक्रमबाट समस्यामा परेकालाई सहयोगका लागि अपील गरिन्छ ।