प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपूर्व जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय पूर्वाग्रही भएको आरोप लगाएका छन् ।
स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न सो पार्टीको पहिलो पोलिटब्यूरो बैठकमा आज सम्बोधन गर्दै उनले निर्वाचनलाई तोकिएको समयमा निष्पक्षरुपमा गराउने सन्दर्भमा सकारात्मक सङ्केत नदेखिएको र त्यस्ता षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे ।
अध्यक्ष ओलीले निर्वाचन चिन्हको रङग बदल्ने जस्ता निर्णयमा पनि सत्ता गठबन्धनसँगको साँगगाँठका आधारमा आयोगले एमालेविरुद्ध निर्णय गरेको आरोप लगाए ।
पार्टी प्रवेशको लहर जारी रहेकाले आगामी निर्वाचनमा नेकपा एमाले एकल बहुमत प्राप्त गरेर सरकार चलाउने ओलीले दाबी गरे ।
दशौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो पोलिटब्यूरो बैठकमा समसामयिक राजनीतिकस्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायतका विषयमा छलफल हुनेछ ।
यही चैत ९ र १० गते काठमाडौंमा हुने केन्द्रीय कमिटीको तेस्रो बैठकका पूर्वसन्ध्यामा पोलिटब्यूरो बैठक बस्न लागेको हो ।