जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा मङ्गलबार दोस्रो दिन पनि कर्फ्यू आदेश जारी गरेको छ । सोमबार बिहानदेखि सुरु भएको कर्फ्यू आदेश मङ्गलबार पनि जारी रहेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा लेटाङको चिसाङ खोलाको पुल पूर्व, मोरङ्गी खोला पश्चिम, वडा नं.६ को कार्यालय दक्षिण र गङ्गे चौक कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । आज प्रहरीले माङकिङ समेत गरेको छ ।
शान्ति सुरक्षा कायम राख्न र थप क्षति नहोस् भनेर कर्फ्यू आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आइतबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म अशान्त बनेको मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नारावाजी र आगजनी गरेका थिए । सोही क्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
घटनामा १२ प्रहरी र आठ स्थानीय घाइते भएका छन् । घाइतेको विराटनगरका अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले हिंसामा संलग्न भएको आरोपमा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।