सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताबीच स्थानीय निर्वाचन केन्द्रित समसायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए ।
बिहान करिब एक घण्टा निर्वाचन लगायतका विषयमा छलफल भएको उनले बताए । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्नेबारे छलफल भएको बताइएको छ ।
छलफलमा प्रचण्ड र नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छिटो टुंगो गर्नुपर्नेमा जोड दिए । तर प्रधानमन्त्री देउवाले भने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट के गर्ने भन्नेबारे निर्णय गराउने जवाफ दिए ।
स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नेबारे कांग्रेसभित्र दुई धार छ । कांग्रेसले चैत ११ गते कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने निर्णय लिने अपेक्षा छ ।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले छलफलमा प्रचण्डले द्वन्द्वकालीन समयका घाइते, अपाङ्ग योद्धाहरुको विषयमा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएको बताए ।
अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ संशोधन, कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताको सूचीकृत गर्ने विषय, गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र, परिवारलाई मासिक जीवन निर्वाह भत्ता लगायतका विभिन्न बुँदामा ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।