सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्धको मुद्दामा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मङ्गलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आचारसंहिताको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । साथै न्यायाधीश श्रेष्ठले अन्तरिम आदेशबारे छलफलका लागि बोलाउने आदेश गरेका छन् ।
सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताविरुद्ध रिट दर्ता गरेका थिए । निर्वाचन आयोगले तयार गरेको आचारसंहितामा पुनः उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने प्रावधान राखिएको थियो ।
रिट निवेदनमा जनप्रतिनिधिले निर्वाचन अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने भएकाले सो प्रवधान हटाउन अन्तरिम आदेश माग गरिएको छ । शेर्पाले दायर गरेको रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।
सर्वोच्चले चैत १३ गते उक्त मुद्दामा छलफलका लागि उपस्थित हुन दुवैपक्षलाई आदेश गरेको छ ।