संघीय सांसद वृजेशकुमार गुप्ता र लुम्बिनी प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
हृदेश त्रिपाठीको तत्कालिन स्वतन्त्र राजनितिक समुहमा रही सुर्य चिन्हबाट २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका गुप्ता तथा प्रदेशसभा सदस्य चुनिएका श्रीवास्तव चैत १४ गते एमालेमा प्रवेश गर्ने भएका हुन् ।
नेकपा एमाले श्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुप्ता र श्रीवास्तवसंगै उनका सहयोगीहरु एमालेमा प्रवेश गर्न लागेका हुन् ।
कपिलवस्तु क्षेत्र नम्बर २ बाट २०७४ सालमा गुप्ता प्रतिनिधि सभामा विजयी भएका थिए भने श्रीवास्तर सोही क्षेत्रको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए ।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार यी दुई सांसदसहित कपिलवस्तु क्षेत्र नम्बर १ र २ बाट हजारौको संख्यामा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
उनिहरुलाई एमालेमा भित्राउन चैत १४ गते अध्यक्ष ओली कपिलबस्तु आउने कार्यक्रम तय भएको समेत रिजालले जनाएका छन् ।
रिजालका अनुसार कपिलवस्तुकै कृष्णनगरबाट समाजसेवी डा.रुद्रप्रताप शाह, कुडालप्रताप शाहसहित नेता कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गर्नेछन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मतान्तरले पराजित गरेका गुप्ता राप्रपा हुँदै तमलोपाबाट आएका नेता हुन् । २०७४ को आम निर्वाचनमा गुप्ताले कुल ३५ हजार १ सय २७ मत ल्याएर विजयी भएका थिए ।
तमलोपाबाट छुट्टिएको हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट उनले एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका थिए । उनी कपिलवस्तुबाट चौथो पटक सांसद पद चुनिएका हुन् ।