चैत्र ६ गते मोरङको लेटाङमा स्थानियसंगको झडपमा परी मृत्यु भएकी महिला प्रहरी जवानको घटनाबारे छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वको छानबिन समिती गठन भएको छ ।
एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रदेश नं. १ प्रादेशिक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
एसएसपी चौधरीको नेतृत्वमा गठित समितिले ‘घटना के–कसरी भयो र कस्को के कमजोरी भए’ भन्नेबारेमा अनुसन्धान गर्नेछ ।
चैत्र ६ गते आइतबार लेटाङ नगरपालिका १ स्थित शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
चैत ४ गते होलीका दिन एक शिक्षकले छात्राको घरमा पुगेर यौन दुव्यवहार गरेका थिए । छात्राको घर पुगेका ति शिक्षकले पानी पिउने बहानामा छात्रामाथि दुव्र्यवहार गरेको आरोप स्थानियको छ ।
उक्त घटनाबारे विद्यालयमा छलफल हुँदा विवादले उग्र रूप लिएको थियो । प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गर्न जाँदा उनालाई बचाउन खोजेको भन्दै भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो ।
आक्रमणको क्रममा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । घटनामा प्रहरी उपरीक्षक जनार्दन जिसीसहित ३० जना घाइते भएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनाको शुक्ष्म अनुसंधान गर्न एसएसपी चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ ।