नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबारदेखि उद्योगमा लोडसेडिङ नहुने दाबी गरेका छन् ।
आज पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शुक्रबारदेखि उद्योगमा लोडसेडिङ नहुने दाबी गरे ।
उनले भने, ‘अहिले उद्योगहरुमा भइरहेको लोडसेडिङ हैन, अचानक आएको संकट हो । युक्रेन र रसियाको द्वन्द्वका कारण कोइला अभाव हुँदा विश्वभर विद्युत उत्पादनमा कमी आएको छ । त्यसको असर नेपालमा पनि परेको छ । हामीले भारतबाट विद्युत महङ्गोमा खरिद गरिरहेको छौं ।’
अचानक आएको विद्युत संकट समाधानका लागि भारतबाट ३८ रुपैयाँ युनिटमा विद्युत खरिद गर्ने उनले जानकारी दिए । बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपैयाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्दैछ । आजैराति १२ः१५ बजेदेखि उद्योगमा लोडसेडिङ नहुने दाबी उनले गरे ।
तर, विद्युत मूल्य भने महङ्गो पर्न गएपनि उपभोक्तालाई भने विद्युत ९ रुपैयाँ युनिटमै बिक्री गर्ने घिसिङले बताए । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पारे । महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०–२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको छ । प्राधिकरणलाई हुनसक्ने घाटाबारे अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको छ ।
उनले उद्योगीहरूलाई पनि यो संकटका बेला सहयोग गर्न आग्रह गरे ।
हाल नेपालमा १६५० मेगावाट विद्युत माग रहेको छ भने २४ घण्टाको पिकिङ उत्पादन १४ सय मेगावाट रहेको छ । २८० मेगावट विद्युत भारतको बिहारबाट ल्याउँदै आएको भएपनि मङ्गलबारदेखि विहारले विद्युत दिन छाडेपछि समस्या भएको बताइएको छ ।
घिसिङले विद्युत क्षेत्रमा ठूलो संकट उत्पन्न भएको भए पनि लोडसेडिङ नहुने दाबी गरे । यो संकट लामो समय नरहने भन्दै लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन मिडियालाई उनले आग्रह गरे ।
घिसिङले भने, ‘यो कहिलेकाहीँ उत्पन्न हुने संकट हो । ग्लोबल क्राइसिसका कारण नेपाललाई पनि अलिकति असर परेको छ । तर, हामी कुनै हालतमा लोडसेडिङ गराउँदैनौं । हामी अरु देशभन्दा राम्रो अवस्थामा छौं ।’